विद्यालय शिक्षा सुधारका मार्ग
शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउने दायित्व सबैको हुन्छ। सरकार, शिक्षक, अभिभावक, विद्यार्थी र आम जनता सबैको जिम्मेवारी यसमा जोडिन्छ। यो एउटा सामूहिक सङ्कल्प हो। हामीले शिक्षामा गुणस्तरको विषयलाई सरकारी र व्यावसायिक तर्फबाट मात्र हेरिरहेका छौँ। यसलाई आम सरोकार र चासोका रूपमा हेरियो भने मात्र समाज गहिराइबाट माथि उठ्न सक्छ। बेलायत, जापान, अमेरिकाजस्ता देशले हाम्रो देशको जस्तै मूल्याङ्कन गरेका भए उनीहरूको शैक्षिकस्तर त्यति माथि उठ्न सक्ने थिएन। कसले कुन विद्यालयमा पढायोभन्दा पनि गुणस्तर छ कि छैन भन्ने कुरा खास रहन्छ। हामीले शिक्षाको क्षेत्रमा व्यापक परिवर्तनको अपेक्षा गरेका छौँ भने हाम्रो तर्फबाट चलायमान पारौँ। मूल्याङ्कन गरौँ। नतिजा सुखद पाइएला।
प्रधानाध्यापक
विद्यालयलाई प्रत्यक्ष रूपमा प्रधानाध्यापकले नेतृत्व गरेको हुन्छ। जुन विद्यालयका प्रधानाध्यापक जुझारु छन्, ती विद्यालय अब्बल छन्। असल र जिम्मेवार व्यक्तिले नेतृत्व पाउने हो भने सबै विद्यालय गुणस्तरीय हुनेछन्। यसो आँखा चिम्लिएर सोचौँ त यस्ता प्रधानाध्यापक कत्तिको पाइएलान्। हामीसँग प्रधानाध्यापकले मासिक बैठकमा हरेक शिक्षकलाई विषयगत सफलता, चुनौती र समाधान गर्ने उपायसहितको प्रस्तुतीकरण गर्ने हो भने विषयगत, तहगत जवाफदेहितामा रहला– शिक्षा प्रणाली। एक महिना मात्र होइन, हरेक महिना यसै गरौँ।
प्रधानाध्यापकले मासिक रूपमा शिक्षकले पढाएको कक्षा अवलोकन गरौँ। शिक्षण कला, विषयगत तयारी, कमजोर विद्यार्थीलाई गरेको सहयोग, गृहकार्य र कक्षाकार्यको परीक्षणमा सहयोग गरौँ। प्रधानाध्यापकले यस्ता काम नियमित गरेमा मात्र पनि शिक्षामा सुधार गर्न सकिन्छ।
शिक्षक
अर्को सरोकारवाला पक्ष शिक्षक हो। शिक्षकले आपूmलाई मैनबत्तीको संज्ञा दिन्छ तर व्यवहारमा पनि त्यही झल्किनुपर्छ। कतिपयमा बोली र व्यवहार मिल्दैन। शिक्षकले जम्मा आफ्ना विद्यार्थीलाई विषयगत सक्षमता प्रदान गरिदिए पुग्छ। जसका लागि शिक्षकले कक्षापूर्व पाठको तयारी, पाठ शिक्षण र मूल्याङ्कन गर्ने। शिक्षकलाई कुन विद्यार्थी कमजोर छ भन्ने थाहा हुन्छ। कमजोरलाई लक्षित गरी योजना कार्यान्वयन गर्न सकिए पक्कै सफलता हासिल गर्न सकिन्छ। शिक्षकले जुन विषयमा अध्यापन गर्ने हो, जानकार हुनैपर्छ। विद्यार्थीले विविध विषयलाई एकैसाथ बुझ्नुपर्ने हुन्छ अनि ऊ कुनै पनि विषयको जानकार हुँदैन। विद्यार्थी काँचो माटोसरह हुन्छन्। अब भन्नुहोस्, पढाउने, जान्ने बनाउने, सिकाउने र कुनै विषयप्रतिको सकारात्मक सोचको विकास गराउने काम कसले गर्ने होला त ?
विद्यालयको गुणस्तर विद्यार्थीको सिकाइमा हुने हुनाले प्रमुख तीन विषय विद्यालयभित्र हुन जरुरी छ। पहिलो विद्यार्थीको नियमितता। दोस्रो, हरेक शिक्षकले आजको मेरो शिक्षणको सिकाइ उपलब्धि शतप्रतिशत भयो ? के मैले सिकाउन खोजेको कुरा हरेक कमजोर विद्यार्थीले सिके ? भोलिको पाठ योजनामा मैले सिकाउन नसकेको कुरा कसरी समावेश गर्ने होला भन्ने खालको पाठ योजना निर्माण। तेस्रो कुरा, पाठ्यक्रमले निर्धारण गरेका तहगत र विषयगत क्षेत्रमा सक्षम हुन प्राप्त गर्ने निमित्त विविध शैक्षणिक क्रियाकलाप।
अभिभावक
सबै अभिभावक पढेलेखेका हुँदैनन्। पढेका नभए पनि सबै अभिभावक अभिभावक नै हुन्। आफ्ना छोराछोरीमाथि उनीहरूको लगानी छ, सुनौलो सपना हुन्छ, आपूmले प्राप्त गर्न नसकेका कुरा आफ्ना सन्तानले प्राप्त गरून् भन्ने आशा हुन्छ। त्यस्ता सपना बुनेर विद्यालय पठाउँदैमा सबै कुरा मिल्छ भन्ने छैन। हरेक अभिभावक मासिक वा पाक्षिक रूपमा विद्यालय जाने, आफ्ना नानीबाबुको प्रगति बुझ्ने र घरमा उनीहरूलाई म कुन–कुन काममा सहयोग गरौँ भनेर सोध्ने ग-यौँ भने पनि शिक्षाका क्षेत्रमा बेजोडको माहोल बन्छ। घरमा पढ्ने निश्चित ठाउँ, आवश्यक सामग्री जोहो, पढ्न चाहिने वातावरण, कामका बारेमा रेखदेख गर्न सके पढाइप्रति उनीहरूको रुचि बढ्न सक्छ। आफ्नो व्यस्त जीवनबाट हरेक दिन थोरै समय यस्तो कामका लागि निकालौँ र जिम्मेवार अभिभावक बनौँ।
स्थानीय सरकार
सङ्घीयतामा गइसकेको अवस्थामा हरेक स्थानीय तह स्वयंले पालिकाको शिक्षा समिति, कर्मचारी, प्रधानाध्यापकको दायित्वमा पर्ने गरेर मासिक समीक्षा गर्ने बानी बसाल्न सकिन्छ। यसो गर्दा विद्यालयले आफ्ना विद्यालयको शैक्षिक वृद्धिमा गरेका रचनात्मक कार्य सुनाउन पाउँछन् र के कस्ता चुनौती आए, व्यक्त गर्न पनि पाउँछन्। एउटा विद्यालयको सिकाइ र बुझाइ अरू विद्यालयमा काम लाग्न पनि सक्छ।
नीतिगत तह
व्यक्ति जुनसुकै कुनामा जन्मिए पनि ऊ एउटा परिभाषित भूगोलको नागरिक हो। जसरी अभिभावकको आफ्ना सन्तानप्रति अपेक्षा रहन्छ, देशले पनि आफ्ना नागरिकप्रति त्यस्तै अपेक्षा राख्नु स्वाभाविक हो। शिक्षा सुधार्न प्रधानाध्यापक, शिक्षक, अभिभावकको मात्रै भूमिका रहन्छ भन्ने छैन। राज्यको पनि ठूलै भूमिका रहन्छ। कानुन राज्यको, नीति राज्यको, तौरतरिका राज्यको, प्रणाली राज्यको तसर्थ हरेक विद्यार्थीको गुणस्तरीय पठनपाठनको सुनिश्चितता राज्यको रहन्छ। शिक्षाको नीति बनाउनेले के के स्रोत तथा साधन चाहिन्छन् होला भनेर पहिले नै परिकल्पना नगरेकाले ती चिजलाई समयमा नै उपलब्ध गराउन नसकेको होला ?
राज्यले देखेको वा बुनेको सपनाका रङहरू समयमै हरेक विद्यालयमा पु-याउन सकेको भए आज नागरिकले शिक्षा क्षेत्रको गुणस्तरीयता खै भनेर सोध्नुको सट्टामा राज्यले सोध्थ्यो होला। कतै राज्य निरीह हुनु वा शिक्षा क्षेत्रमा सुधारको सङ्केतमा कमी आउनुमा राज्य आफैँ दोषी पो हो कि ? शिक्षामा सरोकार राख्नेले आफ्नो कार्य रणनीतिमा रचनात्मक समीक्षा गर्नु जरुरी छ। गाउँको, प्रदेशको र काठमाडौँको सिंहदरबारले यो परिस्थितिलाई ध्यानमा राख्नैपर्छ।
शिक्षा क्षेत्र यस्तो भयो, यस्तो हुनुपर्छ भन्ने कुरा सबैलाई अनुभूति भएको विषय हो। यसमा सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। समग्रमा शिक्षा क्षेत्र दक्ष जनशक्ति, राजनेता, कलाकार, व्यवसायी, वैज्ञानिक आदि उत्पादन गर्ने क्षेत्र हो। मूलमै खराबी आयो भने धारा सफा भएर केही महत्त्व हुँदैन भनेभैmँ यसको गरिमा बढाउन सबै क्षेत्र चलायमान हुन जरुरी छ। शिक्षा क्षेत्र बिग्रिएमा सामुदायिक वा निजी क्षेत्र बिग्रिएको हो भनिँदैन, शिक्षा बिग्रिएको मानिन्छ। अतः आजैबाट आ–आफ्नो क्षमता, पहुँच र रचनात्मक सहयोगमा लागौँ र शिक्षाको मूल सफा गरौँ।
0 Comments